चन्द्रशेखर जी, क्यामराको ब्याट्री फेर्नुस्: प्रधानमन्त्री

२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको विरुद्ध लेख्नेलाई पनि पार्टीले पुरस्कृत गर्ने दावी गरेका छन् । फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै केही वर्षपछि एमालेविरुद्ध लेख्ने मान्छे नभेटिने बताए ।

‘जति गाली गर्नु आजै हो,’ ओलीले भने, ‘केही वर्ष पछाडि एमालेलाई गाली गर्ने मान्छे पाइदैन । कसैको कलमै अगाडि सर्दैन । एमाले त्यसरी देशको हितमा काम गर्दैछ ।’

अहिले एमालेका विषयमा रहेका केही भ्रम तोड्न बाँकी रहेको उल्लेख गर्दै आगामी दिनमा एमालेको राष्ट्र निर्माणको सोचलाई जनताले बुझ्ने उनले बताए ।

पुरस्कृत पत्रकारलाई सम्वोधन गर्दै उनले भने, ‘चन्द्रशेखरजी तपाईं आफ्नो क्यामरामा नयाँ ब्याट्री राख्नुस् । अब एमाले भटाभट काम गर्दै जान्छ, तपाईं भटाभट फोटो खिच्दै जानुस् ।’

एमालेले फोटो खिच्ने वर्गलाई मात्र नभएर फोटो धुने वर्गलाई पनि र समाचार लेख्ने वर्गलाई मात्र नभएर समाचार छाप्ने वर्गलाई पनि हेर्ने उनको भनाई थियो ।

यसअघि पुरस्कृत पत्रकार कार्कीले आफू एमाले निकट नभए पनि पुरस्कार दिइएकोमा आश्चर्य व्यक्त गरेका थिए ।

उनले सुनाए, ‘मलाई नारायण ढकालले फोन गरेर पुरस्कारको विषयमा भन्नुभयो । म त अचम्ममा परेँ । हतार-हतार श्रीमतीलाई भनेँ । उनले माइतीतिर फोन गर्न लागिन् । मैले रोकेँ । मलाई विश्वास नै भइरहेको थिएन । आधिकारिक विज्ञप्ति नआउञ्जेल हल्ला नगरौं भनेँ ।’

‘मलाई सबैले कांग्रेस भन्ठान्छन् । यो पुरस्कारको घोषणा भएपछि कहिले एमाले भइस् भनेर सोधे । खासमा मैले कुनै पार्टी वा संगठनको सदस्यता लिएको छैन । तर डेमोक्रेटिक हुँ । एमालेले दिने पुरस्कार मैले पाउने कुनै आधार देखेको थिइनँ । तर पार्टीको भए पनि यो व्यवसायीक पत्रकारलाई दिइने पुरस्कार रहेछ भन्ने आज विश्वास भयो ।’

कार्कीले एमाले सत्तामा भएका बेला मदन भण्डारी र जिवराज आश्रितको हत्याको अनुसन्धान गर्न सुझाव दिए । उनले भने, ‘मलाई पहिलो यो दुर्घटना हो जस्तो लाग्थ्यो । तर अमर लामाको हत्यापछि भने हत्याकाण्ड नै जस्तो लाग्न थालेको छ । अनुसन्धान हुनु जरुरी छ ।’

२३ औं मदन-आश्रित स्मृति दिवसका अवसरमा एमालेको केन्द्रीय प्रचार विभागले दिएको यो पुरस्कारको राशी ५१ हजार रुपैयाँ छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस