नेपाललाई लक्षित गरी चीनले सुरु गर्‍यो रेलसेवा

चीनले नेपालका लागि रेलबाट उपभोग्य सामाग्रीको ढुवानी गर्ने काम बिहीबारदेखि सुरू गरेको छ ।
दैनिक उपभोग्य तथा अन्य व्यापारिक सामान बोकेर आज दिउँसो चीनको उत्तर पश्चिमी प्रान्त गान्सुको राजधानी लान्झोउबाट उक्त मालवाहक रेल छुटेको हो। रेलको अन्तिम गन्तब्य काठमाडौं भएपनि यसले चीनकै स्वशासित क्षेत्र तिब्बतको सिगात्सेमा सामान झार्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
सिगात्सेबाट ती सामान सडकमार्ग हुँदै काठमाडौँसम्म ल्याइनेछ। सामान ल्याउने यो पूरै प्रक्रिया पार गर्दा सामान १० दिनमा काठमाडौं आइपुग्नेछ। यो यात्रा तीन भागमा बाँडिएको छ, लान्झोउबाट सिगात्सेसम्म दुई हजार चार सय ३१ किमी, त्यसपछि ५ सय ६४ किमी सडक मार्ग हुँदै सिगात्सेबाट केरूङसम्म र केरूङबाट १६० किमी दुरी पार गर्दै चीनबाट आएका सामान काठमाडौँसम्म आइपुग्नेछन्। यसरी सामान ढुवानी गर्दा चीनबाट भारतको बाटो हुँदै समुद्रबाट ल्याइने समयभन्दा ३५ दिन छिटो गरी आइपुग्ने बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण बेला चीनसँग गरेको पारवहन सम्झौता अनुरूप काठमाडौँका लागि आवश्यक सामान बोकेको मालवाहक रेल चीनबाट छुटेको हो। रेल एकपटकमा ४३ वटा कार र ८६ वटा कार्गो कन्टेनर बोक्न सक्ने क्षमताको छ।
यो मालवाहक रेलले नेपालका लागि दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु ढुवानी गर्ने चाइना रेल्वे कन्टेनर कर्पोरेसनका कार्यवाहक निर्देशकले बताएका छन् । यो रेल सेवाको सुरूवातले चीनका गान्सु, किङघाइ प्रान्त, तिब्बतीयन स्वायत्त क्षेत्र र नेपालसहित दक्षिण एसियाली क्षेत्रबीचको सम्बन्ध बिस्तार सहयोग पुग्ने चिनियाँ समाचारमाध्यमले जनाएका छन्।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस